काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको काउन्टर प्रस्ताव ‘वैकल्पिक राजनीतिको मूल बाटो’ ल्याइएको छ । मिलन पाण्डेसहितका ४ नेताहरुले मिश्रको दस्तावेजको काउन्टर प्रस्ताव ल्याएका हुन् ।
पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ । ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ र गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ ।
साथै, तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ । पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहिन अस्थिरताको खेलमा लैजान सक्दैनौँ’ प्रस्तावमा भनिएको छ ।