काठमाडौँ । जसपाका नेता महन्थ ठाकुरको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्विकार गरेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेपछि महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ । निवेदक ठाकुरको मागअनुसार किन गर्नु नपर्ने हो त्यसको आधार र कारण खुलाइ बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आयोग र यादवलाई सर्वोच्चले भनेको हो ।
जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासको आदेशमा भनिएको छ । साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले उक्त निर्णय लिएको थियो । आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।