आइतवार, श्रावण २४ गते २०८३

हप्ताको एकपटक देउवालाई प्रधानमन्त्रीको अफर गर्छन् प्रचण्ड, ओलीलाई ठूलै झट्का !

बिहिवार , मंसिर १३, २०८१

टक खाती, काठमाडौं । गठबन्धन फेरबदल गरेर पटक पटक सत्ताको स्वाद चाखी रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सरकार ढाल्न अनेक खेल खेलिरहेका छन् । 

गत असार १७ गतेको मध्यरातमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ समिकरण बनाएसँगै प्रचण्ड बालुवाटारबाट खुमलटार पुगेका थिए । 

२०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएका थिए । तर, सरकार गठन गर्दा देउवाले पहिलो पटक प्रधानमन्त्री बनाउन नमानेपछि कांग्रेसँगको १६ महिना लामो सहकार्य तोड्दै प्रचण्ड सिदैँ बालकोट पुगे । 

जसअनुसार २०७९ को १० पुसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सामेल गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । 

तर, त्यो गठबन्धन लामो समय टिकेन । प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएको ४२ दिनभित्रै सत्ता सहयात्रीहरू अलग हुन थाले । त्यही वर्षको २२ माघमा रास्वपा, १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले सरकार छाडे । नागरिकता विवादमा अदालतको फैसलाबाट सभापति रवि लामिछाने पदमुक्त हुनु र फेरि पुरानै मन्त्रालय (गृह) नपाएर रास्वपाले सरकार छोडेपनि एमाले र राप्रपा बाहिरिनुमा प्रचण्डको निर्णय कारण थियो ।

राष्ट्रपति एमालेलाई छोड्ने पूर्वसहमति तोडेर प्रचण्डले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले र राप्रपा सत्ता सहयात्राबाट अलग भएका थिए । प्रचण्ड प्रधानमन्त्री बन्ने गरी १० पुसमा जुटेको सहमति अनुसार, राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले पाउने थिए भने संघसहित सातै प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने थियो ।

तर, त्यो सहमतिबाट पछाडि हटेर दुई महिनाभित्रै प्रचण्ड फेरि कांग्रेस नेतृत्वकै गठबन्धनमा सामेल भएका हुन् । फेरि कांग्रेसलाई धोका दिदैँ २०८० फागनु २१ गते प्रचण्ड एमालेको कित्तामा पुगे ।

प्रधानमन्त्री बनेपछि प्रचण्ड कहिले कांग्रेसको कित्तामा पुग्ने त कहिले पूनः एमालेसँगै मिल्ने गरेपछि ओली र देउवा हैरान भएका थिए । आफूलाई पटक पटक धोका दिएपछि ओलीले पनि नयाँ रणनीति बनाए । सुरुमा कांग्रेससँग मिलेर प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउने योजना बनाए । त्यसका लागि ओलीले देउवालाई प्रधानमन्त्रीको अफर गरे ।

तर, देउवाले नमानेपछि ओलीले दोस्रो योजना बनाए । त्यो योजना थियो – ‘पहिला प्रचण्डलाई फकाएर एमालेको कित्तामा ल्याउने र पछि कांग्रेससँग मिलेर प्रचण्डलाई खुमलटारको बाटो देखाइदिने ।’ र, ओलीले प्रचण्डलाई फकाएर आफ्नो कित्तामा ल्याए । त्यसपछि प्रचण्डसँग निकै आक्रोशित कांग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न अफर गर्यो ।

 
ओलीले पनि बदला लिदैँ गत असारमा प्रचण्डलाई खुमलटारको बाटो देखाइदिए । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीपछि २०८४ को निर्वाचनसम्म देउवा प्रधानमन्त्री बन्ने एमाले कांग्रेसबीच सहमति भएको छ । तर, प्रचण्डलाई भने सत्ता बाहिरको पीडाले पिरोलिरहेको छ । उनी जसरी पनि ओली नेतृत्वको सरकार ढाल्न चाहान्छन् । त्यसका लागि उनले देउवालाई हप्ताको एक पटक प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन् । एमाले बाहेकका दललाई समेटेर नयाँ गठबन्धन बनाउने र देउवालाई प्रधानमन्त्री बनाएर आफ्नो पार्टीलाई सरकारमा लैजाने प्रचण्डको योजना हो । 

पछिल्लो समय बीआरआईको विषयलाई लिएर कांग्रेस एमालेबीच खटपट भएको छ । त्यसको फाइदा प्रचण्ड लिन चाहान्छन् । त्यसका लागि उनले देउवालाई प्रधानमन्त्री बन्नको लागि पटक पटक प्रस्ताव गरिरहेका छन् ।  प्रचण्डले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्टि गरेका छन् ।

सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । यो यो कारणले सरकार बदलियो भनेर जानुभयो । अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनु हुन्छ । लौन प्रधानमन्त्री बनिदिनु पर्यो भनेर ।’

तर, उनले प्रचण्डको प्रस्तावलाई कांग्रेसले स्वीकार नगर्ने दावी गरे । थापाले यो गठबन्धन आगामी निर्वाचनसम्मै जाने पनि बताए । ‘केपी ओली सँगसँगै सरकारमा छौं । इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लैजान चाहन्छौं । सरकार तलमाथि गर्ने काम गर्न चाहन्नौं’, उनले भने । 

प्रचण्डले हप्ताको एक पटक देउवालाई प्रधानमन्त्री बनाउनका लागि अफर गरेपछि ओली झस्किएका छन् । सत्ता गठबन्धन ढल्ने डरले नै ओली चीन भ्रमणमा जाँदा बीआरआईमा हस्ताक्षर गर्ने विषयमा कांग्रेसकै लाइनमा उभिएका छन् ।  यसअघि प्रधानमन्त्री ओलीले बीआरआईमा हस्ताक्षर गर्न चाहेँ पनि कांग्रेस भने सहमत भएको थिएन ।

कांग्रेसले ऋण नलिने अडान राखेको थियो । तर, अन्तिममा आएर प्रधानमन्त्री ओली पनि कांग्रेसकै लाइनमा उभिएका हुन् । जसअनुसार कांग्रेस एमालेले तत्काललाई ऋण नलिने समझदारी गरेका छन्।

चीनलाई नबिच्क्याउने र ऋण पनि नलिनेगरी बेइजिङसँग वार्ता गर्ने दुबै दलबीच समझदारी भएको हो । ओली कांग्रेसको लाइनमा उभिएपछि प्रचण्डको प्रस्ताव यसपटकलाई खेर गएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार