आइतवार, श्रावण २४ गते २०८३

सत्ताको आडमा ओलीको रजगज : आफ्ना जोगाएर विपक्षीलाई सिध्याउने खेल !

शुक्रवार , मंसिर १४, २०८१

टक खाती, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको झन्डै पाँच महिना भइसकेको छ । कांग्रेस एमालेका नेताहरुले अप्राकृतिक गठबन्धन बनाउँदा स्थिरता र जनतालाई सरकार छ भन्ने अनुभुति गराउनको लागि फरक विचारधारा भएका दुई ठुला दल एक ठाउँमा आएको भन्दै खुबै भाषण ठोकेका थिए ।

नेकपा माओवादीसँगको गठबन्धनलाई धोका दिदैँ नेकपा एमालेले गत असार १७ गतेको मध्यरातमा कांग्रेससँग नयाँ समिकरण बनाएको थियो । नयाँ समिकरणमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । 

सोही सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गठबन्धन फेरिरहने र सरकार ढाल्ने प्रवृतिबाट जनता हैरान भएका बेला कांग्रेस एमाले मिल्दा जनतामा केही आशा पलाएको थियो ।

ओलीको नेतृत्वमा बलियो सरकार गठन हुदाँ अब केही विकास हुन्छ भन्ने आशा पलाउनु पनि स्वभाविक नै हो । तर, सरकार गठन भएको पाँच महिना बितिसक्दा समेत सरकारले नागरिकको मन जित्नसक्ने गरि काम गर्न सकेको छैन । गत असोजमा अविरल वर्षाले गर्दा धनजनको ठुलो नोक्सानी हुँदा सरकार उद्धार कार्यमा नै असफल भयो । त्यसपछि भने जनताको ओली सरकारमाथिको आश नै टुटेको छ । उल्टै प्रधानमन्त्री ओली काम गर्नुभन्दा पनि आफ्ना पार्टीका नेतालाई जोगाउने र अन्यलाई सिध्याउने खेलमा लागेका छन् । आफूमाथि प्रश्न उठाउनेहरुलाई ओली सिध्याएर नै छाड्छन् ।

ओलीसँग भिड्दा सकिएकाहरु 

नम्बर १ रवि लामिछाने 

ओलीसँगको दोष्ती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि पनि घातक बन्यो । रविले छानीछानी गृहमन्त्रालय पाइरहदा धेरैले ठूला दलले उनलाई सक्काउन लागेको भन्दा रास्वपालाई यो तर्क मजाक लाग्थ्यो । उति बेला रवि लगायत रास्वपाका अन्य नेताहरुको ओलीको चाल बुझेनन् । रवि लोकप्रीय हुँदा नमज्जाले काखी च्यापेका ओलीले आफ्नो पार्टीको भागमा आएको गृह मन्त्रालय समेत आन्तरिक व्यवस्थापन मिलाउँदै रविलाई उपहार दिएका थिए ।

२०७९ पुस १० र २०८० फागुन २३ गते ओलीको सत्तारोहरण र माओवादीको सत्ता जोगाउन रास्वपा आवश्यक थियो र रविलाई पुल्पल्याए । यतिसम्मकी रविमाथि लागेका आरोपको बचाउमा ओली उत्रिए । ओली नयाँलाई सिध्याउने आफ्नो मिसनमा जतिजति सफल हुँदे थिए । त्यतित्यति लामिछाने झनै आलोचित बन्दै थिए । उनको लोकप्रियता उसै घट्दै थियो । एकातिर सत्ताको लागि मरिमेट्ने अर्कोतीर काण्डै काण्डमा फस्दा रवि पनि उही ड्याङको मुला रहेछ भन्ने जनतालाई लागिसकेको थियो । यही मौका पारी ओलीले रविलाई हिरासतको हावा खुवाइरहेका छन् । 

नम्बर २ दर्गा पसाईँ

मेडिकल व्यवसायी दुर्गा पसाईँ मंसिर ४ गते पक्राउ परे । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिएका छन् । व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए। प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ। तर, यहाँ प्रश्न के हो भने पसाईँले लगाएको आरोपबारे ओलीमाथि छानबिन नै नहुने । अनी पसाईँलाई चाहिँ तत्काल पक्राउ गर्नुपर्ने कारण के हो ? 

यसभन्दाअघि पनि २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख अमरिकी डलर जम्मा भएको सनसनीपूर्ण खुलासा ‘ग्लोबल वाच एनालिसिस’ले गरेको थियो । सो रिपोर्टमा जेनेभाको मिराबौड बैंकमा उक्त खाता रहेको रोल्यान्ड ज्याकार्डद्वारा तयार पारिएको रिपोर्टमा उल्लेख छ । ओलीकी पत्नी राधिका शाक्यसँग संयुक्त खाता रहेको समाचार रिपोर्टमा भनिएको थियो ।

प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको चर्चा हुन थाल्यो । सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ । ओली पहिलोपटक प्रधानमन्त्री बन्दा र दोस्रो पटक प्रधानमन्त्री बन्दा भ्रष्टाचार गरेको रकम स्वीस बैंकमा लुकाएको आरोप लाग्यो । त्यसपछि प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको स्वीस बैंकमा खाता नै नभएको भन्दै बचाउ गरेको थियो । त्यसलगत्तै ओलीको कम्बोडियाको टेलिकममा समेत लगानी रहेका बिषय समेत सार्वजनिक गरिए । तर, त्यसमा छानविन गर्नुको साटो उल्टै दुर्गा पसाईँलाई नै पक्राउ गर्नुले शंका पैदा गरेको छ । 

नम्बर ३ माधव नेपाल 

माधव नेपाल कुनै बेला नेपाली राजनीतिका प्रमुख पात्र थिए । यीनले नेकपा एमालेको महासचिवको रुपमा १६ वर्ष नेतृत्व सम्हालेका थिए। संसदको दोस्रो ठुलो दल एमाले बनाउनमा माधवको पनि ठुलो योगदान छ । अहिलेका बादशाह ओलीलाई एमालेको माथिल्लो वरीयतामा ल्याउने काम माधवले नै गरेका हुन् । तर, ओलीले माधवको राजनीतिक जिवन पनि घर न घाटको बनाएका छन् ।  संसद विघटनको बेला माधव नेपालले ओलीको विरुद्धमा नबोलेको भए सादय माधव नेपालको राजनीतिक अवस्था यस्तो हुने थिएन । त्यसबेला ओलीसँगको सम्बन्ध बिग्रिएपछि माधव नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी नामको पार्टी गठन गरे ।

तर, एमाले परित्याग गर्दा पनि माधव नेपाललाई सिध्याउने रणनीतिबाट ओली पछि हटेका छैनन् । उनले माधव नेपालको पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने तयारी गरे । तर, माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ओलीको त्यो कदममा साथ नदिनु भन्दै हारगुहार गरेपछि कांग्रेस अध्यादेश ल्याउन सहमत भएन । कांग्रेसले नमानेपछि ओलीको अध्यादेश ल्याएर नेकपा एस फुटाउने प्रयासमा ब्रेक लागेको छ । तर, कुनदिन अध्यादेश ल्याउँछन् कुनै पत्तो छैन । 

आफ्नो गुणगान गाउने नेताहरुलाई ओलीले जोगाइदिन्छन् 

ओलीले एमालेभित्र पनि आफ्नो विरुद्धमा बोल्ने नेताहरुको राजनीतिक भविश्य नै समाप्त पारिदिएका छन् । एमालेकै नेता भीम रावलको अहिले ओलीको विरुद्धमा बोलेकै कारण उनको अवस्था अहिले बेहाल छ ।

भीम रावललाई ओली पछिको एमालेको नेतृत्व हाँक्न सक्ने नेताको रुपमा हेरिएको थियो । तर, अहिले उनी बरालिएर हिडिरहेका छन् । ओलीले रावललाई उठ्नै नसक्ने गरि पछारिदएका छन् । तर, ओलीले आफ्नो पक्षमा उभिने, आफ्नो गलत निर्णयको विरुद्धमा नबोल्ने र सधै गुणगान गाउने जस्तो सुकै नेता भएपनि साथ दिन्छन् । त्यसकै उदाहरण हुन् – कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी । जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले शक्तिको आडमा उन्मुक्ति पाए ।

सत्तारूढ दल एमालेका प्रदेश सांसद अधिकारीलाई प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिँदा लाखौँ पैसा असुलेर उनीसँगै जापान पठाइएका पीडितसहित ११ विरुद्ध भने मुद्दा चलाइएको छ । प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अधिकारीले अनुसन्धानमा सघाएकोजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको हो । 

यस्तो निर्णयपछि सरकारी वकिल कार्यालयका सन्देश श्रेष्ठसहितका अधिकारीले मोबाइल स्विचअफ गरी त्यस विषयमा प्रतिक्रियासमेत दिएका छैनन् । जापान जानुअघि बिचौलियासँगै बसेर अधिकाले फोटो खिचेका थिए भने जापान जानुअघि मुख्यमन्त्रीलाई जानकारीसम्म गराएका थिएनन्।  

मन्त्रीको नाममा निमन्त्रणा मगाएर रातो पासपोर्ट बोकी व्यक्तिगत भ्रमणमा गएका थिए । यसरी सो भ्रमणमा जान मरिहत्ते गर्नुले यसमा उनको व्यक्तिगत स्वार्थ प्रस्ट देखिन्छ । उनको टिकट बुकिङदेखि होटेलको व्यवस्थासम्म तस्करीमा संलग्न समूहले नै गरिदिएको थियो । तर, ओलीले सत्ताको पावरमा अधिकारीलाई उन्मुक्ति दिएर नै छोडे ।  यता रास्वपा र नेकपा माओवादी केन्द्रले सार्वजनिक रुपमै ओलीले सत्ताको आडमा अधिकारीलाई उन्मुक्ति दिएको बताएका छन् । मानव तस्करिमा संलग्न नेतालाई उन्मुक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ । 

 

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार