काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान अनिलकुमार साहको अर्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो। जितसँगै जनकपुर बोल्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो। एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए। उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे।
यस्तै आशिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए। श्रीलंकाली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए। जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए। यसमा उनको एक छक्का र दुई चौका सामेल थियो। बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक एक विकेट लिए।