काठमाडौँं । राष्ट्रिय स्वतन्त्र पार्टीले हिरासतमा रहेका सभापति रवि लामिछाने असुरक्षित रहेको बताएको छ ।
सरकार र प्रहरीबाट अमानवीय व्यवहार भएपछि सभापति लामिछाने असुरक्षित रहेको रास्वपाको ठहर छ । एकाएक रविलाई मध्यरातमा जबरजस्ती पोखरा लगिएपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
भएको के हो ?
गत मंगलबार काठमाडौंबाट पहिलो उडानमा चितवन ल्याइएका लामिछानेलाई त्यसै दिन दुई घण्टा बयान गराइएको थियो । भोलिपल्ट मंसिर १९ गते बुधबार बिहान ८ बजे नै उनलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो ।
रविलाई सोध्न अनुसन्धान अधिकृतले ७० र पछि थप ४ गरी ७४ वटा प्रश्न तयार पारेका थिए । र, लामिछानेले सबै प्रश्नको जवाफ दिए । अघिल्लो दिन २५ वटामात्रै प्रश्नको जवाफ लेख्न भ्याइएपछि भोलिपल्ट बाँकी प्रश्न सोध्ने काम भयो ।
बिहानै सरकारी वकिलको कार्यालय पु¥याइएको कारण बिहानको खाना र बेलुकाको खानासमेत बयान कक्षमै व्यवस्था गरिएको थियो ।
लामिछानेको जवाफ ३९ पेजमा टाइप गरेर प्रमाणित गरेरसमेत सकिँदा बेलुकाको ८ बजिसकेको थियो । ८ बजे बयानको प्रक्रिया सकिए पनि केहीबेर भलाकुसारीपछि सरकारी वकिलको कार्यालयबाट उनलाई प्रहरी कार्यालय पठाउँदा रातको करिब ९ बज्यो ।
लामिछानेको बयान चलिरहँदा बाहिर प्रदर्शन चर्किएको थियो । रास्वपा कार्यकर्ताबाट ढुंगा प्रहार भयो भने प्रहरीले पानीको फोहरा, अश्रुग्याँससमेत हान्यो ।
प्रहरीले दिउँसोको प्रदर्शनपछि राति नै स्थानान्तरण गर्ने तयारी गरेको भए पनि रविलाई बताएको थिएन । रविले निस्किने बेलामा सरकारी वकिल कार्यालयमा ‘आज टाउको दुःखेको पनि छ, भोलि ११ बजेतिर पोखरा जाने होला’ भनेका थिए ।
राति ९ बजे जिल्ला प्रहरी कार्यालय चितवन लगेपछि उनले रास्वपाका नेताहरुसँग भेट गरे । दिनभर भएको सडक प्रदर्शनबारे पनि उनलाई जानकारी गराइयो ।
रविले आफू सुतिसकेपछि मध्यरातमा उठाएर झांगलझुंगल पार्दै गाडीमा चढाइएको भेट्न आएका नेताहरुलाई बताएका छन् । आफूले स्वास्थ्य परीक्षणको माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । साथै आफूलाई उठाउन आएकामध्ये एक प्रहरीले मापसे गरेको दाबी पनि रविले गरेका छन् ।
मध्यरातमा प्रहरीले अचानक ‘ल हजुर’ जानुपर्यो भनेपछि डराए रवि
मध्यरातमा प्रहरीले अचानक ‘ल हजुर अब जानुपर्यो’ भनेपछि लामिछाने आश्चर्यमा परेका थिए । उनले १२ घण्टासम्म बयान दिँदा आफू थाकेको, टाउको दुःखेको र प्रेसरको समस्या पनि रहेको भन्दै अर्को दिन लैजान अनुरोध गरे, तर प्रहरीले अहिल्यै जानुपर्ने अडान लियो ।
त्यसपछि प्रहरीले रविलाई गाडिमा चडाएर नै छाड्यो । सुनसान रातमा सुतिरहेको आफूलाई गाडिमा चडाएर लगेपछि रवि डरले थरथर काप्न थाले । उनले आफूलाई असुरक्षित रहेको महशुस गर्न थाले । नेकपा एमालेका नेता मदन भण्डारीलाई त्रिशुली नदिमा फालेर मारेको देशमा जे पनि हुनसक्छ भन्ने रविको मनमा लाग्यो ।
उनी उनले गाडि चालकलाई साधे । मलाई कता लग्दैँ हुनुहुन्छ ? चालकले पोखरा लग्ने तयारी हो भनेपछि रविको मन अलिकति सान्त भयो । र, चितवन प्रहरीले राति ३ बजे लामिछानेलाई तीन घण्टाको यात्रापछि पोखरा पु¥यायो । पोखरा पुगेपछि रविको डर अलि कम भयो ।
प्रहरीले रविलाई एकाएक मध्यरातमा पाखरा लगेपछि अहिले प्रहरी प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ । सरकारले रविमाथि प्रतिसोध साँधेको धेरैको टिप्पणी छ । घरी चितवन लगेको छ । घरी सुतिरहेका व्यक्तिलाई मध्यरातमा झांगलझुंगल पारेर पोखरा लगिएको छ । यति मात्र कहाँ होर । आफूले हिरासतमा भोगका कुरालाई रविले आफ्नो डायरीमा लेख्ने गरेका छन् । तर, आफ्नो डायरी नै खोसेर लगेको रविको दावी छ ।
रवि लामिछाने सहकारी ठगीमा दोषी होलान् या निर्दोश होलान् । यसबारे अदालतको फैसलापछि थाहा हुनेछ । तर, अनुसन्धानका नाममा उनको मानव अधिकार हनन् गर्ने वा दबाब दिने कार्य राज्यबाट हुनु चिन्ताजनक विषय हो । राज्यले अनुसन्धान गर्न पाउने तर अनुसन्धानकै नाममा दबाब बढाउने क्रियाकलाप भने गर्न पाउदैँन ।
पोखरा पु¥याएका लामिछानेलाई भेटेपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेलमा राखेर दुःख दिइएको टिप्पणी गरेका छन् । शुक्रबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका थिए ।
‘विभिन्न ढङ्गले एकपछि अर्को गरेर दुःख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हुँ,’ भट्टराईले भनेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।
उनले सरकारलाई प्रतिशोधपूर्ण कार्य रोक्न माग गरेका छन् । उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’
पाँच जिल्लामा अनुसन्धान
सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते पक्राउ परेका हुन् । लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा सहकारी ठगीका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
यी चारै जिल्लामा उनलाई लगेर जिल्ला सरकारी कार्यालयमा बयान लिइएको छ । अलग–अलग सहकारीको रकम हिनामिनाबारे उनलाई सम्बन्धित जिल्लामै लगेर बयान लिइएको हो ।
यसैबिच पर्सा जिल्लामा पनि उनीमाथि अनुसन्धान हुने भएको छ । हालै पर्सा जिल्ला अदालतले समेत लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
संगठित अपराधको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले यस्तो अभियोगमा अनुसन्धानका लागि ९० दिनसम्म थुनामा राख्न सक्ने प्रावधान छ ।
मध्यरातमा पोखरा लगेको भोलिपल्ट कास्की जिल्ला अदालतमा रविले दिएको बयान
बयानका लागि काठमाडौँ लगियो। काठमाडौँमा तीन दिन बिताएँ। सक्काउन अलि छिटो गरिदिन भन्नुभयो, मैले समयको प्रवाह गरिनँ। अन्तिम दिन रातिसम्मै बयान भयो। भोलिपल्ट १० बजे चितवन लैजाने भनिएको थियो। तर, बिहानै उठाएर खेदाउने काम भयो।
भन्नलाई त मलाई पोखराबाट चितवन लैजाने भनिएको थियो। तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ। जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनुपथ्र्यो। तर, त्यहाँ मैले कुनै अस्पताल देखिनँ, परीक्षण त परको कुरा१
चितवन पुगाएकै दिन बयान सुरु भयो। टाउको दुखिरहेको थियो। तर पनि बयान दिएँ। भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो।
दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन। मैले एसपी डीएपीकै औषधि खाएको थिएँ। गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ भनिनँ। राति अबेर मलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्काइयो।
पार्टीका साथी र शुभचिन्तक आउनुभएको रहेछ। एक छिन कुराकानी गरेँ। करिब १० बजेतिर म आराम गर्न गएँ। केही समयपछि मलाई बोलाउन आउनुभएका एसपी प्रहरी महानिरीक्षकको फोन आयो भनेर कोठाबाट बाहिरिनुभयो। बाहिरिँदै गर्दा एसपी साप’को फोनमा आएको आवाज मैले सुनेँ र चिनेँ पनि। उहाँले मलाई नै इंगित गरी अपशब्द प्रयोग गरेर ‘अहिल्यै लिएर जा..’ भन्नुभयो।
‘माथिबाटै दबाब आयो हजुर, यसरी लान मिल्दैनभन्दा पनि जसरी नि लैजा भनिएको छ,’ एसपीले भन्नुभयो। डीएसपीले पनि त्यसैगरी तथानाम गाली खाएको मैले सुनेँ।
मलाई गाह्रो भएको छ, आराम गर्न दिनूस् भनेर पटकपटक आग्रह गरेँ। बिहान तपाईंकै अगाडि औषधि खाएको छु, मेरो प्रेसरको अवस्था त्यो अवस्थामा थियो, तपाईंहरूले थाहा पाइहाल्नुभयो होला। मलाई अस्पताल लगेर चेक गर्नूस् भनेँ। तर, उहाँहरूले सुन्नुभएन।
लैजाने नै भए मेरो परिवार, वकिल र पार्टीका साथीहरूलाई जानकारी दिनूस्, एक कल मात्र गर्न दिनुस् भनेँ तर उहाँहरूले दिनुभएन। कसैलाई खबर गर्न दिनुभएन।
त्यसपछि केही प्रहरी आएर जाउँजाउँ भन्दै मेरो हात तान्न थाले। आएकामध्ये एकजना बोल्दा मदिराको गन्ध आयो। मलाई नछुनूस् भन्दै म बिस्तारै तल ओर्लिएँ।
मलाई प्रहरी हिरासतबाटै उठाइयो। मेरो अवस्था सामान्य छैन, एकपटक स्वास्थ्य परीक्षण त गरिदिनूस् भनेर भनेँ। तर, मानेनन्। मैले बरु भोलि साढे १० बजेको फ्लाइट रहेछ, तपाईं ७ बजे नै एयरपोर्ट गइदिनुहोस् भन्नुहुन्छ भने पनि गइदिन्छु भनेँ। तर पनि उहाँहरू मान्नुभएन। म आराम गर्दा जुन कपडामा थिएँ, त्यसैमा गाडीमा हालियो।
चितवनबाट कास्की जबरजस्ती ल्याइयो श्रीमान्। मलाई लिएर आउने प्रहरी बाटोभरि निदाए। म चालक ननिदाऊन् भनेर गफ गर्दै आएँ। चालकलाई कहाँ लैजाँदै हुनुहुन्छ भनेर सोधेपछि मात्रै पोखरा ल्याउँदै गरेको थाहा पाएँ।
त्यसपछि प्रहरीलाई एक कल फोन गर्न दिनूस् भनेँ, दिनुभएन। अनि मलाई डर भयो, के गर्न खोजिएको हो भनेर? पोखरा ल्याएपछि अस्पताल लगियो। अस्पताल पुगेपछि मलाई त्यहाँ सोधियो(, तपाईं कुनै औषधि खानुहुन्छ, कुनै दीर्घरोग छ, कतै चोटपटक छ?
मैले छैन भनेँ। हस् भनियो। मैले ब्लड प्रेसर चेक गर्नुहुन्न भनेर सोधेँ। त्यसपछि नापियो। बिहानदेखि बेलुकासम्मको बयान अनि मिडिया ट्रायल, ठाउँठाउँमा उजुरी हाल्न लगाइएको छ। अदालतले म्याद थपेको थप्यै छ। परिवारलाई, वकिललाई खबर गर्न दिइएको छैन। यी सबै कुराले प्रभावले पनि स्वास्थ्य अवस्था बिग्रिएको थियो होला।
पोखरामा ल्याएर पनि बोलेको भरमा मेडिकल जाँच गर्न लाग्दा मेरो प्रेसर पनि चेक गरिदिनुहोस् न भनेपछि मात्रै चेक भयो। बयानका लागि ठाउँठाउँ लैजाँदा गरिएको ‘मिडिया ट्रायल’ तपाईंले थाहा पाइराख्नु भएको नै छ। परिवारलाई समेत दोष लगाएर समाचार लेखिए। हुँदै नभएको विषयका समाचार आए। निरन्तरको दबाद र ‘मिडिया ट्रायल’का बाबजुद मैले अनुसन्धानलाई सघाइरहेको छु।
मेरा परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई मलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याइयो। यसले पनि प्रष्ट हुन्छ, यो मुद्दामा कति दबाब छ भन्ने। मैले लेखेका चिजहरू, डायरीहरू हराएको छ। फिर्ता नपाए त्यो फेरि लेख्न सक्छु।
यति लामो समय मलाई थुन्दा, मैले नष्ट गर्न सक्ने खै के प्रमाण भेटियो श्रीमान्? मविरुद्ध निरन्तर राज्य लागेको देख्दा दुःखका साथ भन्नैपर्ने हुन्छ, सत्यका लागि न्यायालयको कठघरामा आएको छु। मलाई सरकारले कुल्चेको न्यायालयले हेरिरहेको छ। त्यसैले म निराश भएको छैन। म निरन्तर राज्यको खेदाइमा परिरहेको छु श्रीमान्।
मुद्दा कसरी गएको छ, राज्य कसरी लागेको छ भन्ने कुरा संसारले बुझेकै छ। त्यो सत्य सम्मानित अदालतले पनि चिन्ला, हेर्ला र देख्ला भन्ने ठानेको छु। मेरो अन्तिम आस न्यायालय मात्र हो।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निचोड छ कि सहकारीबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको सहभागिता र संलग्नता देखिएन। विशेष समितिको त्यो निष्कर्षविपरीत सहकारी ठगी भनेर पक्राउ गरिएको छ। अनुसन्धान गर्न २५ दिन पर्याप्त नभएको भन्दै ६० दिन र्पुयाएको छ। त्यसले पनि नपुगेपछि ९० भनियो। त्यतिले पनि नपुगेपछि ठाउँठाउँमा जाहेरी हाल्न लगाएर, जिल्ला–जिल्ला हिँडाएर दुःख दिएको कुरालाई सम्मानित इजलासले कसरी हेरेको छ श्रीमान्?
म निरीह कहिल्यै पनि हैन। म सौहार्द वातावरणमा निश्पक्ष छानबिन होस् भन्ने चाहेर सबै कुरा सहेर बसेको छु। ममाथि राज्यले षड्यन्त्र गरेको छ। ममाथि गम्भीर मानव अधिकारको हनन भएको छ। यो कुरा मैले श्रीमानलाई नभनेर कसलाई भन्ने?
आज राष्ट्रिय-अन्तर्राष्ट्रिय विषयका महत्त्वपूर्ण छलफल भइरहँदा, मुलुकको चौथो राजनीतिक पार्टीको सभापति, सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएको सांसद म्याद थपमाथि थप भएर थुनिएको छ।