काठमाडौँ । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनले एमाले र एकीकृत समाजवादीमध्ये जसले पहिला बोलायो त्यहीँ पार्टीमा जाने तयारी गरेका थिए ।
तर, नेकपा एमालेले उनलाई पार्टीमा भित्र्याउन त्यति चासो देखाएको छैन । यता नेकपा एस भने वामदेवलाई पार्टीमा प्रवेश गराउन लागि परेको छ । त्यसैले उनी चाडैँ एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना छ ।
एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो । स्रोतका अनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ ।
उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।
वामदेव निकट नेताहरु केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भुसाललगायतका नेता पहिल्यैदेखि नेकपा एसमा विभिन्न जिम्मेवारीमा छन् । वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा छिन् ।
नेकपा एमाले विभाजन हुँदा उनी भने कुनै खेमातर्फ लागेनन् । कम्युनिष्ट एकता हुनुपर्छ भन्ने धारणा राख्ने उनी नत ओलीसँग जम्न सके न माधवसँगै । एमाले फुटेपछि केही समय बरालिएर हिडेका गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन ।
आफ्नो अभियान फलप भएपछि उनी एमालेमा पून जान चाहान्थे । एमालेमा जानको लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बारमबार छलफल गरे । तर, ओलीसँग कुरा नमिलेपछि उनी माधवसँग नजिकिएका हुन् । कुनै समय उनी एमालेका शक्तिसाली नेता थिए । तर, ढुलमुले बाँनीले गर्दा उनको राजनीतिक भविश्य नै तहसनहस भएको देखिन्छ ।