आइतवार, श्रावण २४ गते २०८३

बहुदल पछिका ४ वैकल्पिक शक्ति, कसरी भए छोटो समयमै पत्तासाप ?

शुक्रवार , पौष ५, २०८१

टक खाती, काठमाडौँ । नेपालको इतिहासलाई नियालेर हेर्दा पटक पटक राजनीतिक शक्तिको उदय भएको छ । जे जति राजनीतिक परिर्वतन भए, ती राजनीतिक परिवर्तनसँगै नेपालमा वैकल्पिक शक्तिको उदय पनि भयो । विस. २००७ फागुन ७ गते राणा शासनको अन्त्य भयो ।

त्यसपछि फेरि राजा महेन्द्रले २०१७ सालको पुस १ गते ‘कु’ गर्दै निरङकुश पञ्चायती शासनको थालनि गरे । त्यसपछि कांग्रेस एमाले निरङकुश पञ्चायती व्यवस्थाको विरुद्धमा लडे । कति नेता मेर, कति नेताले लामो समयसम्म जेल जिवन बिताए । जसको फलस्वरुप २०४६ साल चैत्र २६ गते निरङकुश पञ्चायती व्यवस्थाको अन्त्य हुदैँ देशमा बहुदल आयो । तर, त्यसपछि पनि स्थिरता कायम भएन । जसको परिणामले माओवादीको जन्म भयो । १७ हजार मानिसको ज्यान गयो ।

अन्तमा कांग्रेस एमाले र माओवादी मिलेर राजाको विरुद्धमा लडे । र, लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२ ६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो। तर, झन्डै दुई दशक हुँदा समेत विकास हुन सकेन ।

अनि एमाले कांग्रेसले काम गर्न सकेनन् भनेर फेरि नयाँ शक्ति उदय हुने क्रम जारी भयो । विडम्बना ती नयाँ शक्ति लामो समयसम्म टिक्न सक्दैँनन् । बहुदल पछिका वैकल्पिक शक्ति को को हुन् ? आजको लेख यही विषयमा केन्द्रित छ ।

बहुदल पछिका वैकल्पिक शक्ति

नम्बर १ माओवादी

वि.सं. २०४६ चैत्र २६ गते प्रजातन्त्र पुनरवहाली त भयो तर, देशमा स्थिरता कायम भएन । सरकार बनाउने ढाल्ने खेल चलिरह्यो । कांग्रेस एमालेले भनेजस्तो काम गर्न सकेनन् । यहीबीचमा नेकपा माओवादीलाई वैकल्पिक शक्तिका रुपमा जन्मायो । र ज्वालामुखी विष्फोट भए झैँ २०५२ फागनु १ गते जनुद्धका नाममा शशस्त्र द्वन्द्वको सुरुवात भयो ।

आमूल परिवर्तनको नारा लिएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदै ज्ञापनपत्र बुझाउँदै माओवादी जंगल पस्यो । मुलुक र जनता त्रासदीको वातावरणमा बाँचनुप¥यो । जनता आतंकित बने । धेरैले सहादत प्राप्त गरे , रगतको खोलो बग्यो , देशमा गृहयुद्ध चल्यो । कैयौँ विस्थापित भए, कतिका सिन्दुर पुछियो, बालबालिका असहाय र टुहुरा बन्ने, कैयौँ अंगभंग बने । कलम बोकेका बालबालिकालाई बन्दुक थमाइयो ।

तत्कालिन द्धन्दरत माओवादी र सरकार पक्षबाट निहथ्था १७ हजार नेपालीको हत्या भयो । करिव १० वर्षको संघर्षपछि ०६३ मंसिर ५ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिस्तृत शान्ति सम्झौतामा आए । संविधान निर्माणलाई माओवादीले पहिलो एजेण्डा बनायो ।

२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमो माओवादीले मात्रै प्रत्यक्ष र समानुपातिकमा गरी २२० सिट जित्यो । पहिलो दल बन्यो । साँच्चै पनि एमाले र कांग्रेसको विकल्प दिएको अनुभूति भयो । तर, दोस्रो संविधानसभा निर्वाचन २०७० सम्म आइपुग्दा माओवादीको जनमत आधा घट्यो । र, ०७९ सम्म आइपुग्दा माओवादी ३२ सिटमा खुम्चियो । त्यहि पनि कांग्रेससँग गठबन्धन गरेर जीतेका हुन् ती सिट । अब ०८४ मा माओवादीले एक्लै चुनाव लडे पत्तासाप हुने पक्कापक्की नै छ ।

नम्बर २ नयाँ शक्ति

प्रचण्डविरुद्ध पनि वैकल्पिक राजनीतिको नाममा उत्रिए बाबुराम भट्टराई । उनले खोलेको वैकल्पिक शक्तिको नाम थियो– नयाँ शक्ति प्रचण्डसँग खटपट भएपछि २०७३ असार २८ मा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी, नेपालको स्थापना गरे । जसलाई उनले वैकल्पिक राजनीतिको नयाँ आयाम नै बताए । तर, नामको नयाँ शक्तिले उर्जा भर्न र विकल्प दिन नसकेपछि पार्टी नै अलपत्र प¥यो ।

बरु बाबुराम आफ्नो राजनीतिक भविश्य खोज्न संघीय समाजवादी, जनता समाजवादी पार्टी हुँदै हाल नेपाल समाजवादी नामको पार्टीमा छन् । अहिले बाबुरामको राजनीतिक भविश्य नै सकियो भन्दा फरक नपर्ला ।

नम्बर ३ विवेकशील साझा

२०७४ को संघीय निर्वाचन अघि उदाएको विवेकशील साझालाई धेरैले भारतमा आम आद्मी पार्टीको उदयसँग जोड्ने गर्दथे । स्थानीय चुनावमा एक हुन नसकेका स्वर्गीय उज्जव थापा नेतृत्वको विवेकशील नेपाली र बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले संसदीय निर्वाचनमा एक भएर जाने निर्णय पुगे ।

प्रदेशमा केही सिट जिते पनि संघमा खाता खोल्न सकेन । तर, जनताले भने बिस्तारै उनीहरुलाई विश्वास गर्न थालेका थिए । रवीन्द्र मिश्र र उज्वल थापा नै पराजित हुन पुगे । पछि उनीहरुको एकता १७ महिनाभन्दा धेरै लामो टिक्न सकेन । मिश्रमाथि थापा पक्षले ‘हामी’ भन्दा ‘म’ भन्ने दम्भ बढेको, आर्थिक अपारदर्शिता, सामाजिक अभियानमा बेवास्ता लगायतका आरोप लगायो ।

थापामाथि मिश्र पक्षले राजनीतिक चरित्र कम भएको, विचार संगठन छाडेर अभियानमा मात्रै ध्यान दिएको लगायत आरोप प्रत्यारोपको श्रृंखला नै चल्यो । अर्थात व्यक्तिगत महत्वाकांक्षा र कुण्ठाको सीकार बन्यो वैकल्पिक राजनीति ।

यसैबीच अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामाथि जनमत संग्रह गर्ने भन्दै ‘मार्ग परिवर्तन’ विचारभन्दा माथि देश भन्ने प्रस्ताव ल्याएपछि मिश्र र पाण्डे पक्षबीच खटपट बढ्यो । पाण्डे पक्षका केन्द्रीय सदस्य धमाधम कारवाहीमा पर्न थाले । र चार वर्षपछि अर्को फुटको सिकार बन्यो विवेकशील साझा र वैकल्पिक राजनीति । अहिले मिश्र राप्रपामा गएर आफ्नो राजनीतिक भविश्य खोजिरहेका छन् ।

नम्बर ४ रास्वपा

पत्रकारीता क्षेत्रमा लोकप्रीय बनेका रवि लामिछानेले वैकल्पिक राजनीतिको एजेण्डा बोकेर राजनीतिमा आए । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले स्वतन्त्रबाटै चुनाव जितेपछि यही हो मौका भन्ने निश्कर्षमा रवि पनि पुगे र असारमा स्वतन्त्र नामकै पार्टी खोले । र घण्टी बजाउँदै गाउँ छिरे ।

नभन्दै मंसिरमा भएको संसदीय निर्वाचनमा देशको चौथो राजनीतिक शक्तिका रुपमा रास्वपा उदायो । सबैभन्दा बढी भोट ल्याउने नेता बने रवि । नागरिकता प्रकरणले उनको सांसद पद पनि गयो । तर २०८० वैशाखको उपनिर्वाचनमार्फत चितवनका जनताले फेरि उनैलाई अनुमोदन गरि दिएपछि कांग्रेस एमालेसहितका ठूला दलहरुको होस उड्यो र वैकल्पिक राजनीतिको आशा फेरि पलायो ।

तर जब रास्वपा दुई पटक सरकारमा पुग्यो तब उसको लोकप्रियता खस्किदै गयो । पार्टीभित्रै पनि मतभेद बढ्दै गए । उनी आफैँ नागरिकता र राहदानी दुरुपयोगजस्तो गम्भीर मुद्दामा मुछिए । हुँदाहुँदा सहकारी ठगको ट्याग लाग्यो । अर्थात राजनीतिको फोहोर सफा गर्ने भन्दै आएका रवि आफैँ फोहोरको डंगुरमा डुबेपछि अब रास्वपा पनि विवेकशीलकै बाटोभन्दा धेरै पर नरहेकोे संकेत देखीन थालिसकेको छ ।

अहिले रवि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ ।

०८४ को निर्वाचनमा पनि मूख्य प्रतिस्पर्धी एमाले कांग्रेस

०८४ को आम निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै भिडन्त हुने देखिन्छ । नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने बनाइसकेको छ । एमाले पनि जहाँसम्म एक्लै चुनाव लडेर आफ्नो शक्ति देखाउन चाहान्छ ।

वैकल्पिक शक्तिको नारा बोकेर कांग्रेस एमालेलाई साइट लागउनका लागि आएका दलहरुको नै अस्थित्व सकिने अवस्थामा पुगेकाले कांग्रेस एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । नयाँ पार्टीहरुले केही सिट ल्याउन सकेपनि एमाले कांग्रेससँग टक्कर नै गर्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार