आइतवार, श्रावण २४ गते २०८३

अब एमाले पार्टीको नयाँ नाम : ‘बाएमाले’ !

बिहिवार , पौष ११, २०८१

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई ‘केपी बा’ भनेको सारै रुचाउँछन् । पार्टीका नेताले होस् या अरुले होस्  ‘केपी बा’ भनेर बोलाउनेहरु उनको प्यारो हुन्छन् ।

अहिले एमालेभित्र रहेर राजनीति गर्नुछ भने, ओलीलाई ‘केपी बा’ भन्दै गुनगान गाएर बस्नुपर्छ। यदि गुनगान नगाएर ओलीको विरुद्धमा बोलेपछि पार्टीबाट लखेटिएको पत्तै हुदैँन । 

ओलीले आफ्नो विरुद्धमा बोल्नेहरुलाई सिध्याउन बेर लगाउदैँनन् । त्यसको उदाहरण हुन्, भीम रावल । एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै हटाउँदा दुई नेत्रीको पनि जिम्मेवारी खोसेको छ। पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले रावललाई साधारण सदस्यबाट र दुई नेत्रीलाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको हो।

व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा सम्बन्धमा नेत्रीहरू स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालबाटै विरोध जनाएका थिए। सो विषयमा भीम रावलले पनि व्यापारीबाट जग्गा दान लिन नहुने धारणा राखेका थिए।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले पार्टी कार्यालय निर्माण सन्दर्भमा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । 

आफूलाई साधारण सदस्यबाट नै हटाएपछि रावल आक्रोशित बनेका छन् । उनले एमाले अब एमाले रहेन, ‘बाएमाले’ बनेको भन्दै आक्रोश पोखेका छन् ।  नेकपा एमालेबाट आफूलाई निष्काशन गर्ने निर्णयको विरोधमा उत्रिन रावलले अपिलसमेत गरेका छन् ।

यता स्थायी कमिटी सदस्य पाण्डेले आफूमाथि गरिएको कारबाहीलाई कुण्ठित मानसिकताको उपज बताइन्। उनले आफूहरूलाई जिम्मेवारीबाट हटाएर कस्तो एमाले बनाउन खोजिएको हो भन्ने प्रश्न उब्जिएको पनि बताइन्।

‘एमालेले बुधबार गरेको निर्णय कुण्ठित मानसिकताको उपज हो,’ उनले भनिन्, ‘भीम रावललाई पार्टीबाट निकाल्ने, म र उषाकिरण तिम्सेनालाई जिम्मेबारीबाट हटाउने निर्णय गरेर हाम्रा नेताहरूले कस्तो एमाले बनाउन खोज्दै हुनुहुन्छ खै?’

पछिल्लो समय ओली निरङकुश हुदैँ गइरहेका छन् । पार्टीभित्र उनको विरुद्धमा बोल्नु नै विष सरह हुन्छ । उनले गरेका गलत कार्यको पनि प्रशंसा गर्नेहरु मात्रै पार्टी भित्र टिक्छन् । २०७७ सालमा संसद विघटन गर्दा ओलीको विरुद्धमा बोलेकै कारण कयौँ नेताहरुको राजनीतिक जिवन नै तहसनहस भयो ।

जसमा एमालेका प्रभावशाली नेता भनिएर चिनिएका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल, घनश्याम भुसाल र भीम रावल पर्दछन् । उनले पार्टीभित्र मात्र नभइ पार्टी बाहिरका आफ्ना विरोधीहरुलाई पनि ठेगान लगाउन बेर लगाउदैँनन् । 

को हुन् भीम रावल ? 

नेपाली राजनीतिमा बौद्धिक नेता हुन् डा. भिम रावल । २०३० सालबाट विद्यार्थी राजनीतिमा लागेका रावल माधव नेपालको मन्त्रिपरिषद्मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्रिपरिषद्मा उपप्रधानसहित रक्षामन्त्री बने । सुदूरपश्चिम र कर्णालीमा बलियो पकड बनाएका रावलले एमालेको उपाध्यक्ष पद सम्हालिसकेका छन् ।

उनलाई एमालेको भावी अध्यक्ष मात्र होइन । शेरबहादुर देउवा पछि देशको नेतृत्व हाँक्नसक्ने सुदूरपश्चिमेली नेताका रुपमा समेत हेरिन्थ्यो । तर, यीनै भीम रावल अहिले बिकामे भए। कारण- ओलीको विरुद्धमा बोल्नु थियो । आफूसँग भिडेको बदलामा ओलीले रावलको राजनीतिक जिवननै सिध्याइदिए ।

एमालेभित्र लामो समयसम्म माधव नेपाल पक्षमा रहेका रावल २०७७ सालमा ओलीले संसद विघटन गर्दा ओलीविरुद्ध खरो रुपमा उत्रिएका थिए । त्यसपछि एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीलाई टक्कर दिँदै अध्यक्षमै चुनाव लडे । त्यसमाथि एमसीसी पारित गराउँदा एमालेले संसद अवरोध गरेको अवस्थामा रावलले पार्टी ह्वीप विपरीत संसदमा बोले ।

त्यसपछि ओली रावलप्रति झनै बिच्किए । र, गत निर्वाचनमा ओलीले उनलाई टिकट समेत दिएनन् । अहिले आएर साधारण सदस्यबाट समेत हटाइदिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार