काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा गोप्य रुपमा भारत पुगेका छन् । बुधबार महामन्त्री थापा नेपालगञ्जबाट स्थलमार्ग हुँदै दशगजा पार गरेर भारत पुगेका हुन् ।
थापा सुटुक्क भारत गएपछि उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही दिन अगाडि मात्रै परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट सिधैँ दिल्ली पुगेकी थिइन् ।
उनले दिल्लीमा भारतीय विदेशमन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न तयारी गरिन् । तर, भारतीय संस्थापन पक्षले आरजुलाई वेवास्था गरेपछि उनी रित्तो हात स्वदेश फर्किएकी हुन् ।
आरजु काठमाडौँ आइपुगेपछि पछिल्लो समय देउवाका विश्वास पात्र मानिएका गगन भारत किन गए ? भन्ने प्रश्न उठेको छ । उनी पक्कै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी मिलाउनको लागि भारत गएको हुनसक्ने अनुमान गरिएको छ ।
भ्रमणका दौरान गगनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्रीेदीका अति विश्वासपात्र मानिने आदित्यनाथ नेपाल मामिलामा चासो राख्ने भारतीय नेतामध्ये एक हुन् ।
प्रधानमन्त्री ओलीले पुस महिना भित्रै भारतको भ्रमण गर्ने चासो देखाएका छन् । तर, भारतले भने ओलीलाई निम्तोसमेत दिएको छैन । ओलीले गत मंसिरमा चीनको भ्रमण गरेका थिए ।
उनले चीनमा बीआरआई सम्झौतामा हस्ताक्षर समेत गरे । बीआरआईमा हस्ताक्षर गरेपछि ओलीसँग भारत असन्तुष्ट छ । किन की नेपाल चीनसँग नजिकिएको भारतले हेर्नै सक्दैँन । त्यसकारण अहिलेसम्म भारतले ओलीलाई भ्रमणको निम्तो समेत दिएको छैन ।
गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र मोदीबीच उतै भेटवार्ता भएको थियो । ओलीले मोदीसँग एक्लाएक्लै भेटवार्ता गर्न चाहे पनि मोदीले मानेनन् ।
मोदीले नमानेपछि सामुहिक रुपमा ओली र मोदीको छलफल भयो । छलफलमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए पनि मोदीले भने वेवास्था गरेका थिए ।