काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमै बस्ने छ ।
नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।बिहीबारको बैठकमा २३ केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकको सुरुमै विकसित राजनीतिक घटनाक्रम र पार्टी विवादबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउँदै नेता नेपालले पार्टी एकता जोगाउन निरन्तर पहल जारी रहने बताएका थिए ।