आइतवार, आश्विन २५ गते २०८३

देउवाबारेका ‘भिडियो गाइजात्रा’ तत्काल बन्द कांग्रेस नेताहरुको आग्रह

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै उनको सचिवालयले सार्वजनिक गरेका भिडियोहरुप्रति नेपाली कांग्रेसकै नेताहरुले कडा आपत्ति जनाएका छन्।

कांग्रेस महामन्त्री पुर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले उक्त कार्य तत्काल रोक्न प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण पनि गराएका छन्। केही दिनदेखि ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने‍‍‍ ‘।। शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री साझा गर्ने गरेको थियो।

तर यो कार्यप्रति कांग्रेसकै नेताहरुले कडा आपत्ति प्रकट गर्दै तत्काल रोक्न माग गरेका हुन्। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको यो कार्यलाई गाइजात्राको संज्ञा दिएका छन्।

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले ट्विट गरेका छन्।

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराएका छन्।

उनले अहिले काम गर्ने बेला भएको बताउँदै काम राम्रो गरे जनताहरुले नै भिडियो बनाउने बताएका छन्। ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला’, शर्माले भनेका छन्, ‘ पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार