आइतवार, श्रावण २४ गते २०८३

सहकारी प्रकरणः कानुनको धज्जी उडाउँदै धनराज र ऋषिकेशलाई उन्मुक्ति

बिहिवार , पौष १८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन ।

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अन्जला कोइरालाको नाम मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएको छ ।

पोखरेल पत्नी कोइरालासहित २६ जनाविरूद्ध मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुजी जारी भएपछि पोखरेल पत्नी अन्जला फरार छन् । पोखरले समितिको सभापति भएकै कारण प्रहरीले अञ्जलामाथि छानबिन नगरेको आरोप लाग्दै आएको छ । पत्नीविरुद्ध सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको विषयमा नेकपा माओवादी केन्द्रले पोखरेलको राजीनामा समेत माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताले मात्रै होइन, सत्ता पक्षकै नेताहरुको पनि सभापति पोखरलेको जवाफ माग्न थालेका छन् । यता, पूर्वकानुनमन्त्रीसमेत रहेका सांसद गुरुङ तथा उनकी तत्कालीन श्रीमती ज्योति गुरुङले मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । विशेष छानबिन समितिले गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न सुझाव दिए पनि सरकारले आलटाल गर्दै आएका छ ।

सत्तारूढ दलका नेता तथा कार्यकर्ता र निकटस्थहरू मुछिएका घटनामा अनुसन्धानमा ढिलाइ तथा उन्मुक्ति दिइरहँदा आम नागरिकमा सरकारले कानुनी शासनको धज्जी उडाउँदै नाङ्गो नाच नाचिरहेको भन्दै आलोचना भइरहेको छ ।

एकै प्रकृतिका मुद्दामा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताप्रति फरक फरक मुद्दा चलाइनुले प्रहरी अनुसन्धानको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ ।

यसैबीच आज मात्रै नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएको छ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन। एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ। उनले सरकारले दिनप्रतिदिन अधोगतितिर गइरहेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार