काठमाडौँ । आज बिहान चिनियाँ स्थानीय समय अनुसार ९ः५ बजे चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति भएको छैन् । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ ।
केन्द्रले इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको बताएको छ । कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरू चर्किएका छन् ।
पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार आज बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । यो भू-सतहबाट करिव १० किलोमिटरको गहिराइमा गएको भूकम्प हो
डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनकारी दिए ।