आइतवार, श्रावण २४ गते २०८३

आमाले रुदै सोधिन् : बाबु तैँले नै हो बुवा-भाइलाई मारेको ? जवाफमा मिलनले भने– हो आमा

बुधवार , पौष २४, २०८१

काठमाडौँ । बुवा र भाइको हत्यापछि आत्मसमर्पण गरेका मिलन आचार्य अहिले हिरासतमा छन् । उनी १५ दिनदेखि भक्तपुरको हिरासतमा छन् । उनलाई भेट्न केहीले काहीँ उनकी आमा हिरासत पुग्छिन् ।  

आफ्नै सन्तानबाट यस्तो अपराध होला भन्ने कल्पना कमै गर्न सकिन्छ । मनले नमाने पनि मिलनकी आमा रेजिना भक्तपुर प्रहरीको हिरासतमा बेलाबेला उनलाई भेट्न पुग्ने गरेकी हुन् । रेजिनाको आखाँको आशु अहिलेसम्म रोकिएको छैन । हिरासतमा पुगेर रेजिनाले रुदै मिलनलाई सोधिन्,‘ बाबु तैँले नै हो त बुवा र भाइलाई मारेको ? जवाफमा मिलनले भने- ‘हो आमा, मलाई पहिला त्यही बुद्धि आयो ।’ 

आमालाई देखेपछि मिलन भावुक हुँदैनन्, बरु किन भेट्न आएको भनेर प्रश्न गर्छन् ।  ६ पटकसम्म लोकसेवाको परीक्षामा असफल भएका मिलन डिप्रेसनमा थिए । भाइ प्रवीणको आनीबानी, साथीसंगत र अन्य जीवनशैलीबाट आजित भएको उनले प्रहरीलाई बताएका छन् ।

बुवा कूलप्रसादले मिलनको शैक्षिक आवश्यकता पूरा गर्दागर्दै यो नियतिको बारेमा सोच्न भ्याएका थिएनन्, शायद । अन्तिममा आफ्नै छोराबाट मारिनुपर्यो । 

पुस ७ गते भक्तपुरको बालकोटस्थित डोरामा राति मासुभात खुवाएर बुवा कूलप्रसाद र भाइ प्रवीणलाई सुत्न पठाएका मिलनले बिहान हुन नपाउँदै डमबेल र सिलौटोको लोहोरोले हिर्काएर हत्या गरी भागेका थिए ।

मिलनले प्रहरीमा बयान दिएअनुसार उनले पनि आत्महत्या प्रयास गरेका थिए । प्रयास असफल भएपछि उनी प्रहरीमा आत्मसमर्पण गर्न पुगेका हुन् । 

मिलन आफैंले बाबु र भाइको आकृति झल्किने स्केच बनाएर ‘क्रस’ चिह्न लगाएका थिए । यस्तो कार्य सुरक्षा निकायले अपराधीको ‘सफाया’ गर्दा होस् वा ‘ग्याङस्टार’ ले आफ्ना प्रतिद्वन्द्वीको सफाया गर्दा प्रयोगमा ल्याउने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । केही फिल्ममा पनि यस्तो दृश्य देखाइन्छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार प्रहरीले मिलनलाई किन यस्तो स्केच बनाएको भनेर सोधेको थियो । जवाफमा मिलनले जिन्दगीमा केही गर्न नसकेकाले बाबु र भाइलाई मारेर आफू पनि मर्ने योजना अनुसार स्केच बनाएको उल्लेख गरेका थिए । 

स्केच बनाएर क्रस गर्न फिल्म हेरेर सिकेको र आफूले पूर्वयोजना अनुरूप स्केच बनाएको जवाफ उनले प्रहरीलाई दिएका छन् । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार