काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।
डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।
जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।