काठमाडौं । नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न उपसमिति गठन भएको छ ।
आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल रहेका छन् ।
समितिका निर्णयहरूबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायु सेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेस गर्ने बताएका छन् ।
समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन पनि दिएको छ ।
सभापति यादवले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)बारे पनि अध्ययन गर्न अर्को बैठकबाट उपसमिति बनाएर जाने जानकारी दिएका छन् ।