काठमाडौं । रुपन्देहीमा एक मजदुरको हत्या भएको छ । सियारी गाउँपालिका-७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन् । उद्योगमा काम गर्ने एक नेपाली मजदुरको कुटपिटबाट भारतीय नागरिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केवट हुन् । ‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई साथमै राखेर इँटा भट्टामै बस्दै आएका थिए,’ डीएसपी कार्कीले गएराति करिब नौ बजे सोही उद्योगको ट्याक्टर चलाउने युवकले आपसी झै-झगडामा इँटाले प्रहार गर्दा उनको मृत्यु भएको थियो ।
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको हो ।कुटपिटबाट गम्भीर घाइते भएका केवटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ खाएपछि उनीहरुबीच झगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई टाउको र छातीमा इँटाले प्रहार गरेका थिए ।