बुधवार, आश्विन १४ गते २०८३

इजरायली प्रधानमन्त्रीको चेतावनी : दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्ध फेरि युद्ध गर्ने 

आइतवार , माघ ६, २०८१

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम अस्थायी भएको भन्दै हमासविरुद्ध फेरि युद्ध गर्न तयार रहेको बताएका छन् । पहिलो चरणको युद्धविराम सुरु हुनुअघि टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।

उनले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको दाबी गरेका छन् । १५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ । पहिलो चरण १९ जनवरी अर्थात आज देखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनीलाई रिहा गरिनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।

पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुने छ । यस चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ । तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ । युद्धविरामको क्रममा इजरायलले १ हजारभन्दा बढी प्यालेस्टिनीलाई रिहा गर्ने जनाइएको छ ।

युद्धविराम कार्यान्वयनमा आउनुअघिको टेलिभिजन सम्बोधनको क्रममा नेतन्याहुले अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प समेत इजरायलको पक्षमा रहेको जिकिर गरेका छन् । उनले हमासका नेता याह्या सिनवार मारिएको लगायतका युद्ध सफलताका विवरण सुनाएका छन् । उनले भने, ‘हामीले मध्यपूर्वमा परिवर्तन ल्याइदिएका छौं । हमास अब पूरै एक्लिएको छ ।’

उनले युद्धविराम सम्झौताको उल्लंघन कुनै पनि हालतमा सैह्य नहुने समेत बताएका छन् । हमासले बुधबार युद्धविराम सम्झौताको घोषणा भएपछि पनि इजरायलले आक्रमण गर्दा १२० जना मारिएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार