बुधवार, आश्विन १४ गते २०८३

हमासले गर्‍यो इजरायली ३ बन्धकको नाम सार्वजनिक

आइतवार , माघ ६, २०८१

काठमाडौं । हमासले इजरायली तीन बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरू महिला रहेका छन् । हमासले नाम सार्वजनिक गरेका २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् ।

२४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेकी थिइन् । २८ वर्षीया एमिली दमारी ब्रिटिश–इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो । यसअघि रिहा भएका बन्धकहरूले कैदमा हुँदा उनको सम्पर्क भएको बताएका थिए । त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

यी तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्दीहरूको नाम नदिएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिएका थिए । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुने योजना थियो, तर इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दै कम्तीमा १० जना प्यालेस्टिनीको हत्या गरेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार