मंगलवार, आश्विन २७ गते २०८३

प्रहरीबाट बेसरी कुटिए एक युवक

सोमवार , माघ ७, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि बेसरी कुटपिट गरेका छन् । माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएका थिए । लडाएपछि पनि माथिबाट लात्तैलात्ताले कुटेका छन् ।

प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै कुटपिट गरेको देखिन्छ । प्रहरीबाट जोगिन ती युवक अलि पर भागे । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउँमा लडाए । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् । घटना भएको ठाउँ पत्ता लगाइरहेको र पत्ता लागिसकेपछि घटनाबारे जानकारी गराउने बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरुलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने यो भिडियो पुरानो भएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार