काठमाडौं । तनहुँमा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमाछोरा रहेको पुष्टि भएको छ । आज बिहान पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका-१२ तल्लो छिर्कन (बेलभन्ज्याङ) मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सुरुमा पहिचान नखुलेका मृतकको पछि सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका-६ चालिसे घर भइ हाल व्यास नगरपालिका-५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले रहेकी छिन् ।
प्रहरीले दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३-००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान गरेको छ । प्रहरीका अनुसार तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको बाँया साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ ।
दुर्घटनामा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले हुस्सु लागेका कारण मोटरसाइकल दुर्घटना भएको आशंका गरेको छ । मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेका छन् । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएका छन् ।