काठमाडौं । रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका धरानका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ । प्रहरीले गाग्री नियन्त्रणमा लिएर उनलाई भने खाली प्रवेश गर्न दिएको हो । सिंहदरबार प्रवेश गर्नुअघि हनुमानस्थानमै प्रहरीले उनले बोकेको गाग्री नियन्त्रणमा लिएको हो ।
धरानको खानेपानी समस्या समाधान गर्न संघीय सरकारले ध्यान नदिएको भन्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका हुन् । खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवलाई आफ्ना माग सुनाउन उनी अहिले मन्त्रालय प्रवेश गरेका छन् । त्यसपछि उनी अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुग्नेछन् ।
धरानका जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनुपर्ने उनले बताएका छन् । उनले आफ्नो कार्यकालभर धरानका जनतालाई जसरी पनि पानी खुवाउने बाचा चुनावका बेला गरेका थिए ।