सोमवार, आश्विन १९ गते २०८३

ऊर्जामन्त्री र राज्यमन्त्रीबाट डकैती शैलीको प्रयास भयो : सांसद सापकोटा

बुधवार , माघ ९, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन् ।

आज सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन् । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् परियोजना र ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजा जसरी नियम मिचेर ठाडै त्यो त डकैतीकै शैलीमा एउटा निर्णय गरेर दिन प्रयत्न गर्नुभयो ।

देशव्यापी रुपमा चौतर्फी दबाब परिसकेपछि त्यो अहिले एउटा हिसाबले क्यान्सिल भएको छ । यसबीचमा राज्यको इज्जत नै जानेगरी मन्त्रीले कुलमानजीसँग निहुँ खोज्दा खोज्दा विद्युत प्राधिकरणमै लगेर मन्त्रीज्युको कार्यकक्ष खडा गर्नुभएको छ । सांसद सापकोटाले जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिस्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेको भन्दै  आपत्ति जनाएका छन् ।

‘हाम्रो समितिको कार्यक्षेत्र रहेको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको कुरा गर्दा जगदुल्ला हाइड्रोपावरको विषयलाई लिएर र त्यसको निर्माण कम्पनी छनोट गर्ने विषय जसरी अगाडि आयो । राष्ट्रिय समाचार माध्यमहरूमा पनि त्यो आएको छ,’ उनले भने, ‘त्योसँग सम्बन्धित रहेका निर्माण कम्पनीहरू आफैँ अख्तियारमा मुद्दा लिएर जानुभयो । मन्त्रीले आफ्नो कार्यकक्षमा प्रतिस्पर्धामा रहेका आठ वटा निर्माण कम्पनीहरूलाई बोलाउनु भयो । जगदुल्ला हाइड्रोपावर कम्पनीका सिइओलाई पनि बोलाउनु भयो र सात वटा कम्पनी ब्याक हुने र एउटा कम्पनीले मात्रै क्वालिफाई बनाउनुपर्‍यो भनेर भन्नुभयो ।’

सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति पनि आपत्ति जनाएका छन् । उनले सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार