काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृतकमध्ये चार जना नेपाली पनि रहेका छन् ।
हिजो पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको हो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नेपाली नागरिकहरु बाबु खान, इम्तियाज अली, हिमु विश्वकर्मा र लछिराम पासी रहेका छन् ।
पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको हो ।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान लगाइएको छ ।