काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेका छन् ।
प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेका छन् । हिजो करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न थालेका थिए ।
यस क्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ । सनाखत भएका चार जना नेपाली रहेका प्रहरीले जनाएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी रहेका छन् ।
यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ ।