काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । आज रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आज थुनछेक बहस सुरु भएको थियो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।
आज सरकारी वकिलहरूले थुनछेक बहस गरेका हुन् । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको बहस भने बाँकी रहेको छ । भण्डारीले भोलि बहस गर्नेछन् ।