काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा हिजो सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए । आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरूको बहसपछि रविको पक्षमा रहेका वकिलहरूले बहस गर्नेछन् ।
न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा सहकारी पीडितको तर्फबाट शुक्रवार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन् । शुक्रवार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ । दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने अदालतस्रतले जनाएको छ ।
सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका हुन् । उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।
न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश आएपछि थाहा हुनेछ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।