काठमाडौं । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा ब्रेक थ्रु गरेका हुन् । प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् ।
प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधनमा वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताएका छन् । पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि थानकोट((नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिरहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको बताएका छन् । ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ’, प्रधानमन्त्रीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।’
कार्यक्रमस्थलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतको सहभागी रहेको थियो ।