काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।
उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए ।
खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ बजेर ४० मिनेटमा प्रहरीलाई खबर प्राप्त भएको थियो । डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली थप अनुसन्धानका लागि घटनास्थल गएको छ ।