काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चौथोपटक रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि नसकिएकाले शनिबार एकदिनको बिदापछि लामिछाने आज पनि अदालत जाने भएका हुन् । थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार बिहान १० बजे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो ।
लामिछाने अदालत उपस्थित भएपछि आज पनि उनीतर्फका बाँकी अधिवक्ताले बहस गर्ने छन् । यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस सुरु भएको थियो ।
बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए । न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए । रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ ।
रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन् ।