मंगलवार, आश्विन २७ गते २०८३

सुनकोसी नदीमा मोटरसाइकल भेटियो, यात्रु खोज्दै प्रहरी

आइतवार , माघ १३, २०८१

काठमाडौं । सिन्धुलीको सुनकोसी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ । तर, यात्रु भने नभेटिएका प्रहरीले जनाएको छ । मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ । बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका-७ स्थित सडकबाट ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोसी नदीमा फेला परेको छ ।

नदीमा डुबेको अवस्थामा आइतबार बिहान मोटरसाइकल र झोला फेला परे पनि त्यसमा सवार यात्रुलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले बताएका छन् । मोटरसाइकलसँगै फेला परेको झोलामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर( ७ ठेगाना भएका युवकको ब्लुबुक पनि फेला परेको छ ।

इन्सपेक्टर चौरसियाले भने,  ‘झोलासँगैको ब्लुबुक र मोटरसाइकल नदीबाट निकालेका छौँ,’  ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ ब्लुबुकमा उल्लेख नाम भने प्रहरीले खुलाएको छैन । दुर्घटना गएराति नै भएको अनुमान प्रहरीले गरेको छ । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको जनाएको छ ।

नदीमा बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार