सोमवार, आश्विन १९ गते २०८३

वर्षमानलाई लिएर तेह्रथुम प्रस्थान प्रचण्ड

सोमवार , माघ १४, २०८१

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । आज बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम प्रस्थान गरेका हुन् ।

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् । प्रचण्डले आठराई गाउँपालिका-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रुपमा मारिएका थिए । प्रचण्डले आजै आठराई-२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन । उनी आज राति आठराई-६ चुहानडाँडा बजारमा बस्नेछन् ।

मंगलबार बिहान आठराई-६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका रहेको छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार