काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।
रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको प्रचण्डले आज बिहान अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरेका छन् ।लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि छ । पार्क एक सय रोपनीभन्दा बढी
क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका स्रोतले बताएको छ । प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएका प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गाप्रसाद चापागाईंले बताएका छन् ।
त्यसक्रममा प्रचण्डले लसुनेमा रहेको सहिद धनरुपा कार्कीको घरमा सहिद परिवारसित भेटघाट गरेका छन् । उनले बिहानको खाना पनि सहिद परिवारसँगै खाएका हुन् ।