काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कतिपयले नेपाल श्रीलङ्काको कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे त्यो सम्भावना नरहेको बताएका छन् । उनले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहेकका गतिविधि अस्वीकार्य हुने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा सबै बस्नुपर्ने बताएका छन् ।
ओलीले भने, ‘दिनैपिच्छे सरकार ढल्छ, अलि पछि सरकार ढल्छ । बेलुकासम्म सरकार ढल्छ । राती नै ढल्छ । अथवा भोलि बिहान नै ढल्छ । भएन भने दिउँसोसम्म ढल्छ । नभए भोलिसम्मलाई ढल्छ । भोलि नभए पर्र्सिसम्मलाई सारदिए । यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए । यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए । साउनमा ढलेन, भदौलाई म्याद सारे । भदौमा पनि ढलेन, दसैँमा सारे । दसैँमा ढलेन मंसिरलाई सारे ।’
उनले भने, ‘कुन मंसिर ? २०८४ मंसिरसम्म ढल्न सक्छ । तर, मान्छेले के अस्तिको मंसिर बुझे । २०८४ को मंसिरको चुनाव । त्यतिबेला सरकार बदलिन्छ ।’