बुधवार, आश्विन १४ गते २०८३

कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु

बुधवार , माघ १६, २०८१

काठमाडौँ ।  भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको छ । गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको आशंका गरिएको छ भने ५० भन्दा बढी घाइते छन् ।

भारतीय मिडियाहरुका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा भनिएको छ । भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको हो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री आदित्यनाथ योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।

होहल्लाका कारण एकाएक भागदौड मच्चियो । केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडेका थिए । दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए । यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल पुर्याइएको थियो । दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन् ।

संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ । भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा भनिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार