मंगलवार, आश्विन २७ गते २०८३

डोल्पाको एक घरमा आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको मृत्यु

बुधवार , माघ १६, २०८१

काठमाडौं । मुड्केचुला गाउँपालिका-४ ईल गाउँमा आज आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला-४ का वडाध्यक्ष कृतिबहादुर बुढाले बताएका छन् ।

उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको बताए । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।

मृतक सार्कीका ज्वाइँ र छोरी खेतमा गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताएका छन् ।

आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् । वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार