सोमवार, आश्विन १९ गते २०८३

कांग्रेस नगर सभापतिको हत्या भएको परिवारको आशंका

आइतवार , माघ २०, २०८१

काठमाडौं । कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना शङ्कास्पद रहेको भन्दै प्रहरी गहन अनुसन्धान गरिरहेको बताएका छन् । कलौनी परिवारले उनको हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका छन् । उनले निष्पक्ष रूपमा घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको बताएका छन् ।

शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव फेला परेको स्थानमा शीत भए पनि शवमा शीत नपरेको हुँदा घटना थप शङ्कास्पद रहेको भन्दै उनका परिवारले निष्पक्ष छानबिन गर्दै सत्य तथ्य चाँडै पत्ता लगाउन गृहमन्त्री लेखक समक्ष आग्रह गरेका छन् । शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका थिए ।

उनी मृत भेटिएको स्थानमा सिसी टिभीको कभरेज नभएको हुँदा ९ः३३ बजेपछिका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना हुनुभन्दा केही समयअघि अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गरेको प्रहरीले जनाएको छ । उनको खल्तीमा औषधी पनि भेटिएको छ । शव भेटिएको नजिकै उनको पर्स झरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएका छन् । तर, पर्समा पैसा भने छैन । कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक कलौनीको शरीरमा बाहिरी घाउचोट देखिएको छैन । शवको पोस्टमार्टम पछि भित्री केही कुरा थाहा हुने प्रहरीले जनाएको छ । ‘अहिले महाकाली अस्पतालमा पोस्टमार्टम भइरहेको र त्यसको रिपोर्ट आएपछि केही तथ्यहरू बाहिर आउन सक्ने बताएका छन् । भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञहरूको टोलीले पोस्टमार्टम गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार