काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका-५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका-५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो । शुक्रबार बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका-५ उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल पुगेको थियो ।
उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको थियो । अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
स्रोतका अनुसार ‘फोनमार्फत जेदु कुमारीले उपाध्यायलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेका थिए ।’ उपाध्यायलाई उनीहरुले ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।