काठमाडौं । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । सहकारी ठगीको आरोप लागेका थापालाई म्याग्दी प्रहरीले आइतबार बिहान ९ बजे पक्राउ गरेको हो ।
सहकारीका उपाध्यक्ष रहेका थापा र उनको समूहमाथि स्थानीय कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित उनीविरुद्ध २०७९ माघ २८ गते सहकारीकै अध्यक्ष यमबहादुर रोक्कालगायतले सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर सहकारीको रकम दुरुपयोगको छानबिनको माग गरेका थिए ।