काठमाडौं । गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । २०७४ साल माघ २२ गते गण्डकीको पहिलो प्रदेशसभा बैठक बसेको थियो ।
गण्डकीका संस्थापक मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङले चाहिँ फागुन ४ गते सपथ लिएका थिए । यसअघि माघ २२ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ४ लाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आए पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले फागुन ४ को सार्वजनिक बिदा कटौति गर्दै माघ २२ गते नै प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रमको लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी रहेका छन् । मंगलबार औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।