काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका छन् ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अनुरोध गरेको छ ।