काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवन पुगेका छन् । हिजो चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका हुन् । रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् ।
त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । उनि आज अदालतमा उपस्थित हुने कि नहुने भनेर केहीबेरमा थाहा हुनेछ । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार रवि अदालतमा उपस्थित हुनेबारे औपचारिक पत्र प्राप्त नभएको बताएका छन् । ‘बयानका लागि अदालतमा उपस्थित हुने भनेर लामिछानेबाट जानकारी प्राप्त भइसकेको छैन, ।’ उनि उपस्थित भएमा बयान सुरु हुनेछ ।
चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध हिजो चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो भने बेलुका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा भएको थियो ।
लामिछानेको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।