काठमाडौं । चितवनको साहारा सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन् । लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । साहारा सहकारी प्रकरणमा रवि लामिछानेलाई ठगीको अभियोग लागेको छ । जम्मा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । उनलाई सोही कम्पनीमा गएको रकमको हकमा बिगो कायम गरिएको छ ।
कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको छ ।
अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।