सोमवार, आश्विन १९ गते २०८३

जोशीको रिहाइका लागि इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतले गरे टेलिफोन संवाद

बुधवार , माघ २३, २०८१

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका राष्ट्रपति आइस्याक हेर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको  परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली रहेका थिए ।

तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । बंकरमा घाइते भएका धनबहादुर चौधरीसहित इजरायलमा रहेका विद्याथीहरुलाई पछि सरकारले उद्दार गरेर विशेष विमानमार्फत काठमाडौं ल्याएको थियो । हमास र इजरायलबिच जारी युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइका व्यक्तिलाई रिहाइ गर्ने क्रम जारी रहेको छ तर विपिन जोशीको हालसम्म कुनै अत्तोपत्तो छैन ।

जोशीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वयं पहल थालेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार