काठमाडौं । सहारा चितवन सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध बहस गर्न तीन जिल्लाबाट चितवन जिल्ला अदालत आएका सरकारी वकिलले बहस सकेका छन् । आज बिहान पर्साका भोलानाथ निरौला, बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत र धादिङका दशरथ पंगेनीले रविविरुद्ध थुनछेक बहस गरेका हुन् ।
उनीहरूको बहसपश्चात् सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गरिरहेका छन् । उनीहरूले बहस सकेपछि प्रतिवादी रवि पक्षका अधिवक्ताले बहस गर्ने अदालत स्रतलेले जनाएको छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले बहस गर्ने तालिका रहेको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा हिजो बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।
चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको हो । अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए ।