काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एकै दिन ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।आज दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुनेछ ।
आज निष्काशन हुने उक्त निक्षेप संकलनको ब्याजदर पनि बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन १८ गते हुनेछ । केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाइने भएको छ । यसबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ब्याजदरमा बोलकबोल गर्न सकिने निक्षेप संकलनको बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने भएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।