बिहिवार, आश्विन १५ गते २०८३

२९ अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २९.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको कारोबार भएको छ । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ भने ४ को स्थिर रहेको छ । बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजारमा हरियाली छाएको छ । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशतले बढेका छन् । त्यसैगरी व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशतले घटेका छन् । ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको देखिन्छ । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् । हालै सूचीकृत गार्डियनको मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ ३० पैसा पुगेको छ ।

सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्सको ४.५, ग्रीन डेभलपमेन्टको ४.२ र बेस्ट फाइनान्सको ३.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार