काठमाडौं । पाटन उच्च अदालतले मंगलबार एक अन्तरिम आदेश जारी गर्दै फिल्म ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएको छ ।
चर्चित हास्य टेलिश्रृंखला भद्रगोल, सक्किगोनी’ हुँदै जिग्री र पाँडको टीमले बनाएको ‘लाज शरणम’ को रिलिज डेट फागुन १४ गतेलाई तोकिएको छ । चलचित्रका प्रमुख पात्र सिताराम कट्टेल धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाउँदै पूर्वमन्त्री मोहम्मद अफताब आलमले रिट हालेका थिए । चलचित्रको पोस्टर र टिजरमा उक्त पात्रको हुलिया आफूसँग मेल खाएको भन्दै उनले प्रदर्शन रोक्न माग गरेका थिए । आलमले आफूसँग अनुमति नलिईकन आफ्नो चरित्र उतारिएको आरोप लगाएका छन् ।अदालतले चलचित्रको रिलिज रोक्न भनेको छैन । तर, चलचित्र सेन्सर पास नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आदेशमा भनिएको छ ।
अन्तरिम आदेशमा लेखिएको छ, ‘ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ३, ८ (१) बमोजिम चलचित्र निर्माण तथा प्रदर्शनका लागि चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकार सञ्चार मन्त्रालयमा रहेको केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेश भई ऐ. दफा ८ (३) बमोजिम निर्णय भइसकेको अवस्था देखिएको छैन् । निवेदकको संविधान÷कानून प्रदत्त हक-अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय फिल्म जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम’ नामक फिल्मको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रचार-प्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नु नगराउनू ।’
उच्च अदालतका सामु मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश दिएको हो । निर्माण पक्षले अदालतको आदेशमा कुनै प्रतिक्रिया जनाएको छैन् । तर, आज हुने भनिएको ट्रेलर रिलिज स्वतः रोकिएको छ । अब छिटोभन्दा छिटो सेन्सर पास गर्ने तयारी निर्माण पक्षले गरेको छ । चलचित्रमा धुर्मुसको हुलिया मोहम्मद अफताब आलमसँग मिल्दोजुल्दो रहेको छ । तर, निर्माण स्रोतका अनुसार यो चरित्रसँग आफताबको कुनै पनि लेनदेन छैन । स्रोतले भन्यो, ‘हुलिया मात्रै मिलेको हो, चरित्र उनको होइन, । सेन्सरले औँला उठाउने कुनै ठाउँ छोडेका छैनौँ ।’ चलचित्रमा धुर्मुसले एक भारतीय व्यापारीको भूमिका निभाएका छन् ।
नेपालमा कुनै पनि पब्लिक फिगरको हुलिया उतारेर अभिनय गर्ने सिलसिला पुरानो भइसकेको छ । हुलिया मात्र होइन, पात्रकै नक्कल गरिएका थुप्रै उदाहरण छन् । धुर्मुस स्वयम् पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतारमा देखिने गरेका थिए । कमेडियनहरुले अभिनेता राजेश हमालदेखि पत्रकार ऋषि धमलासम्मको हुलियासहित क्यारिकेचर गर्ने गरेका छन् । मानिसहरूले जिउँदो ईट्टाभट्टामा हालेर मारेको अभियोगमा दोषी प्रमाण भएका आलम आजीवन जेल सजाय खेपिरहेका छन् । उनले वारेसमार्फत ‘लाज शरणम’ विरुद्ध मुद्दा हालेका थिए ।
अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले आलमको पक्षमा बहस गरेका थिए । यस्तै जेपीटी क्रियसनको तर्फबाट टिकाराम भट्टराईले बहस गरेका हुन् । चलचित्र विकास बोर्डले पनि ‘लाज शरणम’को प्रतिरक्षा गरेको थियो ।