काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । तराई- मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशमा भने मौसम आंशिक रुपमा बदलिएको भए पनि वर्षाको सम्भवना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।